गृहपृष्ठ Featured गाउँ पस्याे मधुमेह : २० वर्षमाथिकालाई वर्षमा एकपटक जाँच गर्न डाक्टरकाे सुझाव

गाउँ पस्याे मधुमेह : २० वर्षमाथिकालाई वर्षमा एकपटक जाँच गर्न डाक्टरकाे सुझाव

सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीले ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताए । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।’

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताए । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्यालले सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताए । उनले भने, ‘जो गाउँमा बस्नुहुन्छ, उहाँहरूले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित परीक्षण गर्नुपर्‍यो ।’

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सुझाव दिए । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ ।

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताए । उनले भने, ‘यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।’ मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनले बताए ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनले भने, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।’

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उनले भने, ‘वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच/दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।’

सम्बन्धित् समाचार