गृहपृष्ठ Featured बाँकेमा बाघको आक्रमणबाट एक गोठालाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक गोठालाको मृत्यु

नेपालगन्ज : गाई चराउन गएका नरैनापुर गाउँपालिका ४ पण्डितपुरुवाका लखन गडरिया तीन दिनपछि मृत भेटिएका छन् । घर नजिकैको जंगलमा कात्तिक २५ गते गोठालो गएका गोडिया घर नफर्किएपछि शनिबार स्थानीयले प्रहरी कार्यालयमा खबर गरेका थिए । परिवारले गोडियासँगै एउटा गाई पनि नफर्किएको जानकारी गराएपछि प्रहरीले जंगलमा खोजी गरेको थियो ।

भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले खोजी गर्दै जाँदा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा गडरिया र गाईलाई फेला परेको बताए । स्थानीयले बाघ गर्जेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका हुन् । त्यसअघि गोडिया आफन्तकोमा गएको हुनसक्ने परिवारले अनुमान गरेका थिए ।

नरैनापुरस्थित गोवर्द्धधन धामदेखि ५ किलोमिटर पूर्वतर्फ मृत गाई र बाघले खाएको अवस्थामा गडरियाको शव फेला परेको हो । नरैनापुरको जंगल क्षेत्र बाँके निकुन्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोड्ने जैविक मार्ग हो । शव पोस्टमार्टमका लागि नेपालगन्ज ल्याइएको छ । यसअघि बाघले बाँकेको पूर्वी भाग गाभरमा एक जनालाई खाएको थियो ।

सम्बन्धित् समाचार