कैलाली : कैलालीलगायत पश्चिम तराईका जिल्लामा गहुँखेतीका लागि रासायनिक मलको अभाव भएको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएको किसानले गुनासो गरेका छन् ।
बेमौसमी वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।
पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ ।
मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन् । पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको यस कम्पनीमा डीएपी र युरिया मलको मौज्दात सकिएको छ ।








