काठमाडौं : विशेष गरेर सडक नजिकका घर र जग्गाको मूल्य दिनप्रतिदिन बढिरहेको छ। अझै विकासका पूर्वाधार सम्पन्न सहरी क्षेत्रका घर र जग्गाको भाउ अकासिएको छ।
सरकारले तोकेको मूल्यमा भन्दा बजारमा चलनचल्तीमा प्रतिस्पर्धी मोलमोलाइबाट किनबेच हुँदा मूल्यवृद्धिको गति तीव्र बढेको छ। तर कुन गतिले बढेको छ भन्ने यकिन तथ्यांक भने थिएन। अब नेपाल राष्ट्र बैंकले घरजग्गाको समयअनुकूल मूल्यवृद्धिको स्थितिबारे निरन्तर जानकारी दिने भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलो पटक प्रदेशगत आधारमा घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मूल्यवृद्धि (मुद्रास्फीति) केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ।
यद्यपि जग्गाको मूल्य बढेकै छ। सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६र०७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मूल्यवृद्धि (मुद्रास्फीति) २६.४५ प्रतिशत रहेको पाइएको छ। यस्तै, मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९।७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। यसैगरी, आर्थिक वर्ष २०७७र०७८ को पहिलो नौ महिनामा यस्तो मूल्यवृद्धि बैंकको आधारमा १६.३१ प्रतिशत र मालपोत कार्यालयको आधारमा १२.५७ प्रतिशत रहेको छ।








