बुटवल : नेपाली काङ्ग्रेसको निर्वाचन अन्तर्गत मतगणनाको क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ।
कांग्रेस महाधिवेशनको सन्दर्भमा रूपन्देहीको प्रदेश ३(क) को मतगणना स्थलमा शुक्रबार राति युवाहरूको एक समूहले आक्रमण गर्दा पौडेल समूहबाट प्रदेश क्षेत्र नम्बर ३ का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित पाँच जना घाइते भएका थिए।
घाइते नेताका समर्थकहरूले अस्पतालको बेडमै पत्रकार सम्मेलन गरी आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा मण्डले शैलीमा आक्रमण हुनु निन्दनीय भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्बर ३ (क)का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाण भाइ नेपाली काङ्ग्रेस रुपन्देही सचिव रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाए।
खाणको निर्देशनमा तरुण दलका रुपन्देही अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको टोलीले पन्तमाथि आक्रमण गरेको उनले दाबी गरे।
सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीका कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै श्रेष्ठले मतगणनास्थलमा गृह प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाए।








