कपिलवस्तु : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

यसैबीच कपिलबस्तुको बाणगंगा नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु गरेको । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियान पालिकाले १६ दिन सम्मै विभिन्न कार्यक्रम गरि मनाउने महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्तले जानकारी दिनुभयो । अभियानको पहिलो दिन आज प्लेकार्ड र पन्चेबाचा सहित सचेतनामुलक र्याली सम्पन्न गरेको छ ।
नगरपालिकाको प्रांगणदेखि सुरु भएको र्याली ४ नं. चोकबजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोण सभामा नगर उपप्रमुख तथा लैंगिक हिंसा निवारण समिती संयोजक चक्रपाणी अर्यालले बोल्दै विभेदरहित समाज निवारण गर्दै लैंगिक हिंसा रहित पालिका निमार्णमा नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
यस्तै कार्यक्रममा प्रशासकिय अधिकृत बासुदेव खनालले अभियानलाई अभियानको रुपमा मात्र सिमित नराखि घर, कार्यस्थल सबै ठाउमा व्यवहार र कार्याशैलीमा रुपान्त्रण गरि समतामुलक समाज निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो ।








