काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदुलाई फेरि नेपाल फर्काउने निर्णय गरेको हो। क्यानले पुबुदुसहित पाँच जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो। आईसीसीले पुबुदुका पक्षमा राय दिएपछि क्यानले त्यही नामलाई अनुमोदन गरेको हो।
श्रीलंकाका पूर्व क्रिकेटर पुबुदु दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टीट्वेन्टी विश्वकप खेलेको थियो। त्यही कारण उनलाई नेपालको सफल क्रिकेट प्रशिक्षका रुपमा लिइन्छ।
पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो। गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकका रुपमा काम गरेका थिए। २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण देखाउँदै पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए।








