वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा ९ मा रहेको जोकोही खोलामा मापदण्ड विपरीत नदिजन्य सामाग्री उत्खनन् गरिएको पाइएकोछ ।
मंसिर १६ गते नगरपालिकासंग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले केहि दिनमै मापदण्ड विपरीतका औजार प्रयोग गरि नदिजन्य सामाग्री उत्खनन भएको स्थानियले बताएका छन् । शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारी नेकपा एमालेको चुनावमा ब्यस्त रहेका छन भने ठेकेदारले नदी दोहन गरेर मस्ती गरेका छन । मेयर अधिकारी नेकपा एमालेको जिल्ला अध्यक्षका लागी चुनावी मैदानमा ब्यस्त छन ।
उक्त खोलामा दुई दिन सम्म औजार प्रयोग गरि उत्खनन भएको र अहिले भने औजार हटाइएको बताइएको छ । सुरुमै मापदण्ड विपरीत विभिन्न मेसेनरी औजार प्रयोग गरेपछि आगामी दिनमा त्यसले गर्ने काम प्रति प्रश्न उठेको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलावाट ४५ सय घटमिटर मात्र निकाल्न पाईने उल्लेख छ । संझौतामा कुनै औजार प्रयोग गर्ने उल्लेख छैन ।
ठेकेदार कम्पनीले उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयवासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मौन समर्थन रहेको आशङ्का स्थानीयवासीले गरेका छन् । यसैबिच सुरही नदीबाट करोडौँको नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिएको पनि पाइएको छ । नगरपालिकाको वडा नं. १ र ९ नं. सिमानामा पर्ने सुरही नदीबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा तथा मिस्कट चोरी निकासी गरिएको स्थानीयले गुनासो गरेको छन् ।
शिवराज नगरपालिकाले सुरही नदी नजिकै रहेको जोकोही खोलालाई ठेक्कामा दिएको भए पनि जोकोही खोलाको माल भएको भन्दै ठेकेदारले रोयल्टीसमेत काटेको पाइएको स्थानीय प्रकाश थापाले बताए । उनले भने “यिनी चोर ठेकेदार, दलालहरु भ्रष्टचारीहरुका कारण राज्यका मुल्यावन् सम्पत्तिहरु संरक्षण हुन नसकेको हो, यस्तालाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय किन मौन छ ?” । “वास्तवमा यस कार्यमा सबैको मिलेमतो नै रहेको देखिन्छ” उनले भने । सुरही खोलामा अबैद्य नदीजन्य पदार्थ उत्खनन् गर्ने शृङ्खला नरोकिएपछि अनुगमन गरिएको स्थानीयबासी दिल माया बाठा मगरले बताइन् । नदी दोहन कार्यलाई रोकथामका लागि स्थानीयले मात्र के कति गुनासो गर्ने र ध्यानाकर्षण गराई रहने भन्दै मगरले दुःखसमेत व्यक्त गरिन् ।
यता ठेकेदार पक्षले आफूहरुले सम्झौता, मापदण्ड विपरीत र अबैधरुपमा नदी उत्खनन् नगरेको दाबी गरेको छ । स्थानीयले ठेकेदारको मिलेमतो रहेको गुनासो गर्दै आए पनि आफूहरूको संलग्नता नरहेको ठेकेदार पक्षले जनाएको छ ।








