काठमाडौं : संघीय संसद सचिवालयले सांसदहरुको क्षमता, नैतिकता, आचरण र लगनशीलताबारे लिखित रुपमै प्रश्न उठाएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी नेतृत्वको समितिले एक वर्ष लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा सांसदहरुको आचरणमाथि गम्भीर प्रश्न उठाइएको हो ।
पोहोर माघ ७ गते सचिव योगीको संयोजकत्वमा २४ सदस्यीय ‘संघीय संसदका विभिन्न समितिको निर्देशन कार्यान्वयनको प्रभावकारिता अध्ययन समिति’ गठन भएको थियो ।
सोही समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनले संसदीय समितिका कामकारबाही प्रभावकारी नहुनु र निर्देशनहरुको कार्यान्वयन निराशाजनक हुनुका पछाडि संघीय सांसदहरु नै मुख्य जिम्मेवार रहेको ठहर्याएको छ ।








