गृहपृष्ठ Featured राप्रपाभित्र कोही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

राप्रपाभित्र कोही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको उनको भनाइ थियो । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले उक्त विषयलाई निकट भविष्यमै टुंगोमा पुर्‍याउने पनि बताए ।

पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने अध्यक्ष लिङ्देनले बताए । ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौं । र त्यो विषय पनि हामी निकट भविष्यमै टुंगोमा पुर्‍याउँछौं र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई हामी निराश बनाउँदैनौं । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौं,’ अध्यक्ष लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका थिए । मनोनित २४ जना पदाधिकारीहरूमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

यसअघि पार्टीको महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थासँग जोडेर राप्रपाको नयाँ नेतृत्वबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार