बिकास थापा (कपिलवस्तु) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले मौसमी कृषि कामदार स्वरुप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने भएको छ । कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउन स्थानिय ५ सय ७० जना कृषकहरुलाई पालिकाबाट छनौट गरी पठाउने भएको हो । यसका लागि मंगलबार नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारी र बाणगंगा नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारीहरु बिचमा अन्तरिक्रया गरिएको छ । कृषि प्रणाली विकासमा टेवा पु¥याउन , स्थानिय कृषकलाई नयाँ कृषि प्रबिधिका बिषयमा जानकारी गराउन, कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय कृषकलाई त्यहाँ पठाइने नगरप्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ ।

नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारीलाई नगरपालिकामा स्वागत गर्दै नगरप्रमुख थारुले नगरको कृषि र कृषकको बर्तमान अवस्था र यहा रहेका पर्यटकीय संगै धार्मिक क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । उहाले नगरपालिकालाई छनौट गरेकोमा धन्यवाद दिदै कोरिया संग नगरपालिकाले सम्बन्ध राख्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो ।
यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ । केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । यस्तै कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल कल्चरसेन्टरका म्यानेजर चचुङगो , मणि गौतमको उपस्थिती रहेको थियो । ३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको छ ।








