काठमाडौं : आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ। बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीनवटै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि श्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बताए। कांग्रेसले हालसम्म गरेका काम तथा भविष्यमा गर्ने कामहरूको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्यको माध्यमबाट जनतासम्म पुर्याउने पनि उनले बताए।
निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिए।
नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले जानकारी दिए।








