गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका– ५ को आँपचौर स्वास्थ्यचौकी उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवनको एमाले सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे । उनले गुल्मीमा स्वास्थ्यचौकीहरूको भवन निर्माणको सन्दर्भमा देशकै नमुना काम भइरहेको बताए । केही वर्षभित्र २ नम्बर निर्वाचन क्षेत्र भित्रका स्वास्थ्यचौकीहरू मापदण्डअनुसारकै भवनहरूमा सञ्चालन गर्ने गरेर योजना अगाडि बढाइएको विष्टले बताए ।
उनले कच्ची घर, स्कुल र साँघुरा भवनमा कष्टपूर्ण सेवाप्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरू आधुनिक भवनहरूमा देख्न पाउँदा अत्यन्तै खुसीको महसुस भएको बताए । आँपचौर स्वास्थ्यचौकी ०७५ सालमा सम्झौता भएर निर्माण थालिएको थियो ।
डेढ करोडको लागतमा स्वास्थ्यचौकी निर्माण
डेढ करोडको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको मुसिकोट नगरपालिका– ५ का वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए । उनले बर्थिङ सेन्टर र आवाससहितको आधुनिक स्वास्थ्यचौकी निर्माणले आँपचौरवासीमा नयाँ आशा पलाएको बताए ।








