काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु बीच भेटवार्ता भएको छ। एमसीसी अनुमोदनको विषयमा प्रचण्डसँग मतभेद राखेका श्रेष्ठ र विप्लवबीच बुधबार बिहान भेट भएको हो।
पार्टीभित्र अन्तरद्वन्द्व चर्किएको समयमा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
श्रेष्ठ निवास हात्तिवन पुगेका विप्लवले भेटवार्तामा एमसीसीको विषयमा प्रचण्डले जबर्जस्ती गरेको भन्दै राष्ट्रियताका पक्षधर एकजुट हुनुपर्ने बताए। भेटमा विप्लवले श्रेष्ठलाई पार्टी एकता गरेर अगाडि बढ्न आग्रह गरेका छन्। श्रेष्ठले पार्टी फुटाउने लक्ष्य नभएपनि अध्यक्ष कमरेडको अभिव्यक्तिपश्चात सोच्न बाध्य भएको जवाफ दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार केन्द्रीय कमिटी बैठक शुक्रबार भएकाले पार्टीमा छलफल गरेका अगाडि बढ्ने श्रेष्ठले बताएका छन्।
संसद्बाट एमसीसी पास गरेपछि प्रचण्डप्रति चौतर्फी आक्रोस बढेपछि उनले पत्रकार सम्मेलन गरेरै स्पष्टीकरण दिएका थिए। एमसीसीका विषयमा माओवादी नेता श्रेष्ठले आक्रामकरुपमा विरोध जनाइरहेका बेला प्रचण्डले सार्वजनिक रुपमा नै नारायणकाजीको नाम लिएर वामदेव गौतमबाट पाठ सिक्नुपर्ने अभिव्यक्ति दिएका हुन्।
‘नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ। सबै एकै मत हुनुपर्छ भन्ने छैन। तपाईँको विचारलाई सम्मान पनि गरिन्छ। केन्द्रीय कमिटीको बैठक आउँदै छ। कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस्।’महाकालीमा सन्धिमा राष्ट्रघात भयो भनेर एमालेका आधा केन्द्रीय कमिटी लिएर वामदेवजी गएको स्मरण गर्दै प्रचण्डले भने, ‘तर भोट आयो शून्य, उहाँको पार्टीले एक सिट पनि जित्न सकेन। त्यसैले कोही सेन्टिमेन्टमा आउनु हुँदैन भन्ने हो। राजनीति भोलेन्टियर्स कर्म हो कोही कसैलाई जबर्जस्ती गर्नु हुँदैन। कसैलाई जबर्जस्ती बस भन्न पनि सकिँदैन।’
असन्तुष्ट पक्षलाई लिएर श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना पाएपछि मंगलबार प्रचण्ड उनलाई हात्तीवनमा पुगेका थिए। पत्रकार सम्मेलनमा यस्तो बताएपछि श्रेष्ठ थप छलफलमा जुटेका छन्।








