वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको छैठौ दिन चर्चित आधुनिक गायक शिव परियारको अगमन हुने भएको छ । आज चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।
यता सोमबार १० औं कपिलवस्तु डान्स आईडलतर्फ ११ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका थिए । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार प्रियंका चौधरी प्रतियोगिताबाट बाहिरिएकी हुन् । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् ।
‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।







