सत्तारुढ कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।
पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले बन्द सूचीमा नाम रहेकाहरुलाई हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्दिय कार्यसमितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि बैठकमा जानकारी गराइएको प्रवक्ता महतले बताए ।
उनले भने, ‘कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रमा भएका मूल विषयबस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो । त्यस सम्बन्धमा कार्यसम्पादन समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नु भयो । र, त्यो सम्पूर्ण सुझावहरुलाई ध्यानमा राखेर केन्द्रीय सदस्यलाई पनि मेलबाट मस्यौदा पठाउने र त्यसको आधारमा परिमार्जनसहित घोषणापत्र पारित गर्ने निर्णय गरियो ।’








