कपिलवस्तु : कपिलवस्तु, बाँकेलगायत पश्चिम तराईका केही जिल्लामा तातो हावा चल्न थालेको छ । दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका कपिलवस्तुसहित नेपालगन्ज, भैरहवालगायतका क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो । दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । कपिलवस्तुको चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, तौलिहवा, कृष्णनगर लगायतका क्षेत्रमा तातो हावा चलेको छ । जसले सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ ।

दिउँसो १२ बजेदेखि दुई बजेसम्म तातो हावा चल्न थालेको छ । भैरहवामा सबैभन्दा बढी तापक्रम थियो । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्यो । भैरहवामा पनि तातो हावा चलेको थियो। नेपालगन्जमा ३९ डिग्री सेल्सियस तापक्रम पुग्यो भने घोराहीमा ३६.३ पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले बताए ।
उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ । नेपालगन्जसहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले बताए । दैनिक चार÷पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ । उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गर्छ ।
उनका अनुसार अझै तीन÷चार दिनसम्म गर्मी बढ्न सक्छ। त्यसपछि केही बादल लाग्ने उनले बताए । पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनु पर्ने उनी बताउँछन् । तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ ।








