काठमाण्डौ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आज बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने जानकारी दिनुभयो ।
यो विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले पनि स्वीकृति दिइसकेको उहाँको भनाइ छ ।
यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले उडान गर्ने भएको छ । जजिराले हप्ताको तीन दिन उडान गर्ने तालिका तय भएको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो । जजिराले सोमवार, बुधवार र शुक्रवार उडान गर्ने उहाँको भनाइ छ । अरू एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको दाहालले बताउनुभयो ।
४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ ।








