सागर वि.क.(वैखरी अनलाईन) : यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारी स्वरुप कपिलवस्तुकोे जगदिशपुरमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.९ जगदिशपुरमा नमूना मतदान कार्य सम्पन्न गरिएको हो । नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६५ जनाले मतदान कार्यमा भाग लिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
जसमा ७ वटा नमूना मतपत्रमा बदर देखिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार पुर्ण मतपत्र बदर ७ वटा र आशिंक मतपत्र बदर ३ वटा भएको छ । उक्त नमूना मतदानबाट यस पटकको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको थियो ।
नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको उनले बताईन् ।








