पाल्पा : पाल्पाको रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना गरिएको छ। लालपुर्जा वितरण तथा भूमिहीनहरुको लगत अध्यावधिकका लागि कार्यालय स्थापना गरिएको हो।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले केन्द्रको स्थापना गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरी केन्द्र स्थापना गरिएको बताए।
लालपुर्जा वितरण गर्ने कार्यक्रम असारभित्रैबाट सुरु गरिने उनले बताए। यसअघिका आयोगका निर्णय र स्थानीय सरकारको निर्णयानुसार नै आयोग अघि बढ्ने बताउँदै पुर्जा वितरण कार्य रामपुरबाट थालनी गर्ने अध्यक्ष निरौला बताए।
यसअघि चार पटकसम्म भूमिहीन लगत माग भएर छानबिन सकिसकेका ७८३ भूमिहीनलाई पहिलो चरणमा लालपुर्जा दिइनेछ। तत्कालीन गाविस, स्कुल, क्याम्पसले बिक्री गरेका रसिदको भरमा भोगचलन गर्दै वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरजग्गाको लालपुर्जा वितरणका सम्बन्धमा निर्वाचनका बेला चुनावी एजेन्डा बनेका छन्।








