गृहपृष्ठ Featured बाँकेमा सामूहिक बलात्कार मुद्दामा ३ जना कारागार, २ लाई सुधार केन्द्रमा पठाइयो

बाँकेमा सामूहिक बलात्कार मुद्दामा ३ जना कारागार, २ लाई सुधार केन्द्रमा पठाइयो

नेपालगन्ज : बाँके राप्ती सोनारीका १६ वर्षीया किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये तीन जनालाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

दुई जना किशोरलाई बाल सुधार केन्द्रमा पठाइएको छ भने बलात्कार घटनामा सहयोग पुर्‍याउनेमध्ये नाबालिकलाई अभिभावकको जिम्मा र एक जनालाई धरौटी राखेर छाडिएको छ ।

बाँके जिल्ला अदालतले मुद्दाको सुनुवाइ गर्दै बलात्कार अभियोगमा पक्राउ परेका बैजनाथ ८ पिपरी गाउँमा बिक्रान्त, राजकुमार र निराजन थारुलाई कारागारमा राखी मुद्दा पुर्पक्षमा राख्ने आदेश दिएको हो ।

यस्तै, बलात्कार अभियोगमा पक्राउ परेका प्रविण र हेमराज थारु नाबालिक रहेकाले सुधार केन्द्रमा राख्ने आदेश अदालतले दिएको धनौली प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए । उनका अनुसार बलात्कारपछि किशोरीलाई मोटर साइकलमा घर पुर्‍याउन जाने निर्देशन थारुलाई अभिभावकको जिम्मा लगाइएको छ भने अर्का विश्वनाथ थारुलाई १ लाख ८ हजार धरौटीमा छाडिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् चिनजान भएपछि जेष्ठ २१ गते आफ्नो जन्मदिन मनाउन बाँके बैजनाथ गाउँपालिका ८ झिगौरा गाउँका हेमराज थारुले बाँके राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई जेष्ठ २१ गते आफ्नो जन्मदिन मनाउन बोलाएका थिए ।

किशोरीले जन्मदिनको निम्ता स्वीकार गर्दै हेमराजलाई भेट्न करिब एक सय किलो मिटर दूरी पार गर्दै बस चढेर नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको मानखोला नजिकै साँझ ४ बजे आएकी थिइन् । उनलाई लिन हेम र उनका साथीहरूले लिएर बर्दियाको पर्यटकीय क्षेत्र बढैयाताल घुमाएर नजिकै पूर्वतर्फ रहेको मानखोलामा रहेको जंगलमा पुर्‍याएका थिए ।

पीडित किशोरीका अनुसार उनीहरूले किशोरीलाई मदिरा खुवाएर रातभर सामूहिक बलात्कार गरेका थिए । किशोरीको होस खुलेपछि घरसम्म पुर्‍याइदिन हेमराजले गाउँकै आफ्नै साथीहरूलाई विश्वनाथ र निर्देशन थारुलाई बोलाएर आफूहरु त्यहाँबाट भागेका थिए ।

जेष्ठ २२ गते बिहान करिब ४ बजेको समयमा नेपालगन्ज गुलरिया राजमार्गको खजुरा गाउँपालिका ५ को प्रतिक्षालय नजिक विश्वनाथ थारुले मोटर साइकल चलाउँदै, किशोरी बीचमा र निर्देशन थारु पछाडि बसेर आइरहेको अवस्थामा पक्राउ परेपछि घटना सार्वजकि भएको थियो ।

सम्बन्धित् समाचार