रुपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कुनै पनि निर्णय तथा सूचनाबिना करारका कर्मचारी हटाएपछि उत्पन्न विवाद अझै सुल्झिएको छैन ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आन्तरिक निर्णय गराएर पुराना कर्मचारीलाई बिदाइ तथा नयाँ कर्मचारी नियुक्ति गरेपछि सुरु भएको विवाद समाधान हुन सकेको छैन ।
आफूहरूलाई कुनै पनि जानकारी नै नगराई ९ जना करारका कर्मचारीलाई निलम्बन तथा ११ जना नयाँ कर्मचारी थप गरिएको विरोधमा उपप्रमुखसहित ६ जना वडाअध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख, जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
कुनै प्रक्रिया नै पूरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुनर्विचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रूपमा प्रस्तुत हुने उनीहरूले चेतावनी दिएका छन् ।
उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का अध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्रीवास्तव, ७ का अध्यक्ष ध्रुप यादव, १० का अध्यक्ष विनोद कहाँर र १२ का अध्यक्ष हरिकेश लोधले नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईलाई प्रत्येक्ष भेटेर सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।








