भाद्र १७, बुटवल ।
बुटवल उपमहानगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । ‘सफलताका एक सय दिन’ नामक पुस्तकमा स्थानीय सरकारले गरेका ३८ वटा काम समेटिएको छ ।
बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पतालको स्थापना, कृषि बजार केन्द्र, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेकोलाई सफलता मानिएको छ ।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि पुस्तकमा समेटिएको छ ।
डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरूका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि ‘च्यानलाइज’ गर्ने र तारजाली लगाउने काम गरेकोलाई उपलब्धिमा राखिएको छ ।
यस्तै मोतिपुर औद्यौगिक क्षेत्र नापजाँच गरी यथार्थ प्रतिवेदन दिन कार्यदल गठन गरी काम थालिएको र नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
साथै निर्वाचित जनप्रतिनिधिले पदस्थापना गरेको १ सय दिन पूरा भएको अवसरमा उपमहानगरमा पूर्वजनप्रतिनिधि र दलहरूका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ । बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्वप्रमुख, उपप्रमुख, उपविजेताहरूका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरू अगाडि बढाएको बताइन् ।








