क्यानडेली अधिकारीहरुले १० जनाभन्दा बढीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध चक्कु आक्रमण गर्ने दुई जनाको खोजीमा रहेको बताएका छन् ।
आइतबार सास्काचेवान प्रान्तमा संदिग्ध दुई व्यक्तिले चक्कु प्रहार गर्दा कम्तीमा १० जनाको ज्यान गएको न्युयोर्क टाइम्सले लेखेको छ । उक्त आक्रमणमा १५ जना घाइते भएका छन् ।
विभिन्न १३ वटा छुट्टाछुट्टै ठाउँमा भएको छुरा प्रहारको घटनामा उनीहरुको मृत्यु भएको सास्काचेवान प्रान्तको प्रहरीले जनाएको छ । आक्रमणमा दुई जना संलग्न रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।
स्थानीय प्रहरीले संपदग्ध दुवै जनाको तस्बिर सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेका उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको समाचारमा जनाइएको छ ।
थप आक्रमणको जोखिम रहेको भन्दै प्रहरीले त्यहाँका सबै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले स्थानीयको मोबाइलमा सावधानी अपनाउन म्यासेज गरेको समाचारमा जनाइएको छ ।








