मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए । उनका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।
प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।
सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् ।









