आश्विन ६, काठमाडौँ ।
दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिर्हाम९झन्डै ३५ करोड नेपाली रुपैयाँ० को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।
यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरत दुबईमा कार धुने काम गर्दै आएका छन् । उनले चिठ्ठामा जितेको पैसाले घर परिवार राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् ।
२५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेका उनी ३ वर्षअघि दुबई पुगेका हुन् । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए ।
खालिज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ । यो पैसाले भाइको उपचार सहज हुने भएको छ ।’ उनीसँग बैंकखाता नभएकाले लट्री कम्पनीले नै खोलिदिन लागेको छ ।
महजूजको अपरेटर इविंग्सका सीईओ फरिद साम्जी भन्छन्, ‘हामीले उहाँको खाता खोल्न सघाएर पैसा ट्रान्सफर गर्दैछौँ ।’ भरतले बाँकी पैसा आफ्ना ५ वर्षीय छोरा र ३ वर्षीया छोरीको सुखद भविष्य निर्माणमा खर्चिने बताएका छन् ।









