गृहपृष्ठ Featured दाङ–२ : महराले मैदान छोडेपछि गठबन्धनभित्र तानातानमा

दाङ–२ : महराले मैदान छोडेपछि गठबन्धनभित्र तानातानमा

दाङ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा आफ्नो सशक्त दाबी राखेको छ ।

अघिल्लो निर्वाचनमा जितेकै आधारमा महरालाई नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर २ छोड्ने तयारी गरेको थियो । तर, महराले मैदान छोडेपछि कांग्रेसका नेता राजु खनालले दाबी गरेको नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए ।

‘महरा सर लड्ने अवस्थामा हामी दाबी गर्ने पक्षमा थिएनौं तर उहाँले प्रत्यक्षतर्फ चुनाव नलड्ने निर्णयमा पुगेर समानुपातिकमा जानुभयो । त्यसपछि हाम्रो पार्टीबाट राजु खनालले दाबी गर्नुभयो,’ खनालले भने, ‘महराबाहेक माओवादी अरु नेता चुनाव लड्दा हार्ने स्थिति हुन्छ । त्यसैले कांग्रेसको दाबी छ ।’

सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्दैछन् । उनीसँग प्रतिस्पर्धामा सशक्त उम्मेदवार आवश्यक पर्ने भन्दै कांग्रेसले दाबी गरेको छ । कांग्रेसले माओवादीलाई दाङबाट प्रदेशसभामा तीन सिट दिएर भए पनि प्रतिनिधिसभातर्फ दुई सिट लिने तयारी गरेको छ ।

माओवादी केन्द्रले भने महराले मैदान छोडेपछि दाङ–२ मा स्थायी समिति सदस्य रेखा शर्मालाई अघि सारेको छ । पोलिटब्यूरो सदस्य निर्मल आचार्य प्रदेशमा चुनाव लड्न तयार भएपछि शर्माले प्रतिनिधिसभामा अवसर पाएकी हुन् ।

सम्बन्धित् समाचार