नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुका ९ वटै स्थानमा मनोनयन दर्ता गरेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।
जिल्लाका ३ प्रतिनिधि सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेदवारको मनोनयन दर्ता गरिएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिए । प्रतिनिधि सभा-१ बाट एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य बलराम अधिकारीले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश सभाको ‘क’ बाट एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् निवर्तमान प्रदेश सभा सदस्य विष्णु पन्थी, ‘ख’ बाट मधुशुधन शरण चौधरीले मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधि सभा-२ बाट एमाले केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश सभा ‘क’ बाट नवराज लामिछाने र २ को ‘ख’ बाट निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवको मनोनयन दर्ता गरेको एमालेले जनाएको छ ।
प्रतिनिधि सभा-३ बाट एमाले केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ताको मनोनयन दर्ता भएको छ ।
प्रदेश सभा ‘क’ बाट अर्जुन कुमार केसी र ‘ख’ बाट रजाउ रहमान खाँको उम्मेद्वारी परेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।








