अस्ट्रेलियालाई बुधबार दोस्रो २०-ट्वान्टी क्रिकेटमा ८ रनले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिज २–० ले जितेको छ । इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यो जितसँगै उसले तीन खेलको सिरिजमा निर्णायक अग्रता लिएको छ ।
२०-ट्वान्टी विश्वकपअघि तयारीका रूपमा आयोजित सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटमा १ सय ७८ रन बनाएको थियो । त्यसमा डाविड मलानले ४९ बलमा ८२ रन बनाए ।
यस्तै मोइन अलिले २७ बलमा ४४ रन जोडे । जवाफमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सफल भयो । मिचेल मार्सले २९ बलमा बनाएको ४५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
घरेलु टिमका लागि टिम डाविडले पनि २३ बलमा ४० रन जोडे । इंग्लिस बलरमध्ये साम कुरान सर्वाधिक सफल रहे । उनले २५ रन खर्चेर ४ विकेट लिए । अब तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।








