राजेन्द्र खनाल, कपिलवस्तु ।
२०७४ सालमा वाम गठबन्धनको समर्थनमा कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल ‘बलदेव’ यसपटक नेपाली कांग्रेस–नेकपा एकिकृत समाजवादी सहितको गठबन्धनको बलमा सासंद पदमा दोहोरीने दाउमा छन् ।
उनीसँग प्रतिस्पर्धामा छन् नेकपा एमालेका नेता बलराम अधिकारी । अधिकारी उनै हुन् जसले २०७४ को निर्वाचनमा खनाललाई जिताउन भूमिका खेलेका थिए । त्यतिबेला खनालले नेपाली कांग्रेसका दिपकुमार उपाध्यायलाई पराजित गरेका थिए ।
अधिकारी र बलदेवले तत्कालीन नेकपामा सहकर्मी भएर काम समेत गरे ।
२०७४ मा जुन पार्टीका उम्मेदवारलाई हराएका थिए खनाल अहिले त्यही पार्टीका नेताको समर्थनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा चुनावी मैदानमा आएका छन् । तर उनका २०७४ का सारथी नेकपा एमालेका उम्मेदवार अहिले टक्कर दिन खनालसँग मैदानमा छन् ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीर राष्ट्रिय जनमोर्चाको साथ पाएकाले खनालले केही सहज महसुस गरेका छन भने एक्लै प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार अधिकारी पनि जित निश्चित रहेको बताउँछन् । जनता र एमालेसँग डराएकाहरुले गठबन्धन गरेका कारण आफूहरु जितका लागि एक्लै मैदानमा आएको अधिकारीको दाबी छ ।
२०७० मा यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भई संविधानसभा सदस्य भएका अधिकारी २०७४ सालमा माओवादीसँगको वाम गठबन्धन भएपछि खनालले टिकट पाएका थिए । २०७० मा अधिकारीसँग पराजित भएका खनाल अहिले गठबन्धनको बलमा अहिले पुनः उनै अधिकारीसँग चुनावी प्रतिश्प्रर्धामा उत्रीएका हुन् । उनी दोस्रो पटक सांसद बन्ने योजनामा छन् भने अधिकारी पनि दोस्रो पटकका लागि प्रतिनिधीसभाको संसदमा पुग्ने दाउमा छन् । यहाँ यसपटक दुबै नेताहरुका बिचमा कडा प्रतिश्प्रधा हुने देखिएको छ ।
अधिकारी संविधान सभा सदस्य हुन भने खनाल कृषि मन्त्री बनिसकेका नेता हुन । उम्मेदवारी दर्तासँगै चुनाव प्रचार-प्रसार सुरु गरेका दुवै उम्मेदवारले विगतमा आफुले जिल्लामा खेलेका भूमिका प्रस्तुत गर्न थालेका छन् ।
आइतबार उम्मेदवारी दर्ता गरेलगत्तै खनालले जितका लागि आफु ढुक्क भएको दाबी गरेका थिए भने अधिकारीले पनि यसपटक गठबन्धनका उम्मेद्धारलाई हराएर एमालेबाट आफुले जित्ने जिकीर गरेका थिए ।
२०६४ को निर्वाचनमा एमालेका बलराम अधिकारी झिनो मतले पराजित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका दिपकुमार उपाध्याय विजयी भएका थिए । त्यस यताका निर्वाचनमा उपाध्याय पराजित हुदै आएका छन् । लगातार कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि टिकट पाइराखेका कांग्रेस नेता उपाध्याय यस पटक पनि उम्मेद्धारका रुपमा सिफारिस भएका थिए तर गठबन्धनका कारण उनले टिकट पाएनन् ।
यसपटक उनले आफैलाई पारजित गरेका नेता खनाललाई समर्थन गर्न बाध्य बनेका छन् ।








