गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ठूला दलले महिलालाई पत्याएनन्

कपिलवस्तुमा ठूला दलले महिलालाई पत्याएनन्

सागर वि.क., कपिलवस्तु ।

कपिलवस्तुमा प्रमुख राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार शुन्य जस्तै छन् । प्रमुख राजनितिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी महिला उम्मेदवारलाई अघि सार्न सकेनन् ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् । यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन् ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा रहेका प्रतिनिधिसभातर्फका तीन निर्वाचन क्षेत्रमा पाँच जना मात्र महिला उम्मेदवार छन् भने प्रदेशसभातर्फका ६ निर्वाचन क्षेत्रमा ६ जना मात्र महिला उम्मेदवार छन् । यी ११ उम्मेदवारमध्ये कोही पनि प्रमुख राजनितिक दलका उम्मेदवार हैनन् । यी ११ महिला उम्मेदवार कोही स्वतन्त्र हुन् भने कोही अन्य अपरिचित राजनितिक दलका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ का लागी २१ जना उम्मेदवार छन् । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ बाट २१ जना उम्मेदवार मध्ये दुई जना मात्र महिला उम्मेदवार छन् । ति दुई महिला हुन् स्वतन्त्र उम्मेदवार ४४ बर्षीय गितादेवी पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ४८ बर्षीय सन्जु सिंह विष्ट । यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ (१) का लागी ९ जना उम्मेदवार छन् । ती मध्ये एक जना मात्र महिला उम्मेदवार छिन् । ति हुन् ४० बर्षीय स्वतन्त्र उम्मेदवार विमला परियार ।

यता कपिलवस्तु क्षेत्र नम्बर १ (२) का लागी १८ जना उम्मेदवार छन् । तिमध्ये एक जना मात्र महिला उम्मेदवार छिन् । ति हुन् ४६ बर्षिय मंगोल नेशनल अर्गनाईजेसनकी उम्मेदवार लक्ष्मी नेपाली । कपिलवस्तु क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार छन् । तिमध्ये एक जना मात्र महिला उम्मेदवार छिन् । उनी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार ३० बर्षीय सविता शर्मा । कपिलवस्तु क्षेत्र नम्बर २ (१) मा १२ जना उम्मेदवार छन् । तिमध्ये एक जना पनि महिला उम्मेदवार छैनन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ (२) मा १० जना उम्मेदवार छन् । तिमध्ये एक जना मात्र महिला उम्मेदवार छिन् । ति हुन् स्वतन्त्र उम्मेदवार ६२ बर्षीय कबुतरी बरइनी । कपिलवस्तु क्षेत्र नम्बर ३ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । तिमध्ये स्वतन्त्रबाट आरती रजौरिया भुसाल र नेपाल जनता पार्टीबाट गीता शुक्ला गरि दुई जना मात्र महिला उम्मेदवार छन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ (१) मा १९ जना उम्मेदवार छन् । तिमध्ये नेपाल जनता पार्टीबाट कान्ति गोसाईन र स्वतन्त्रबाट लक्ष्मी हमाल गरि दुई जना मात्र उम्मेदवार छन् ।

यस्तै कपिलवस्तु क्षेत्र नम्बर ३ (२) मा २५ जना उम्मेदवार छन् । तिमध्ये मंगोल नेशनल अर्गनाईजेसनकी उम्मेदवार तनमति राका मगर एक मात्र महिला उम्मेदवार हुन् ।

यसरी प्रत्यक्ष निर्वाचनमा महिलालाई विश्वास गरि चुनाव जिताएर राज्यको नेतृत्वदायी भूमिका पठाउन देशका प्रमुख राजनितिक दलहरु नै प्रतिवद्ध नहुनु चिन्ताको विषय भएको सरोकारवालाहरु बताउँछन् । महिलालाई नेतृत्वमा नस्वीकार्ने प्रवति अझै पनि यथावत रहेको उनको भनाई छ ।

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

सम्बन्धित् समाचार