मनोज पौडेल, कपिलवस्तु ।
उनी स्पष्ट वक्ता हुन् । तर्कसंगत तथ्य कुरा गर्छन् । प्रखर र निडर पनि छन् । ०७० मा क्षेत्र नं. २ मा संविधानसभा सदस्यमा कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिए । तर, मत भने सबैलाई देखाएर कांग्रेसलाई दिए । चुनावमा विजयी भएपछि उनको चर्चा एकाएक चुलिएको थियो । पछि कांग्रेस प्रवेश गरे ।
उनी हुन् ५२ वर्षीय निवर्तमान सांसद अतहर कमाल । ०६४ सालदेखि आफ्ना लागि मत माग्दै आएका उनको दैनिकी यस पटक भने फेरिएको छ ।
उनी यसपटक आफूलाई नभई गठबन्धनका उम्मेदवारलाई भोट माग्दैछन् । त्यतिमात्रै होइन, जिल्लाको चुनावी कमान्ड नै सम्हालिरहेका छन् । पार्टीभित्रको आन्तरिक संघर्षमा कमाल र पूर्वराजदूत दीपकुमार उपाध्याय प्रतिनिधिसभाको क्षेत्र नं. १ बाट उम्मेदवार हुन अन्तिम समयसम्म कसरत गरेका थिए । नेताबीच टिकटका लागि रस्साकस्सी हुँदै गर्दा उनले भनेका थिए, ‘पार्टीले टिकट दिए संसदीय निर्वाचन जितेर देखाउने छु । तर, सत्ता गठबन्धनमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि उनलाई निल्नु न ओकल्नु भयो । केही समय प्रतिक्रियाविहीन बने । उक्त क्षेत्रबाट गठबन्धनका उम्मेदवार चक्रपाणी खनालले टिकट पाएका छन् ।
‘सधैं अन्याय अत्याचारविरुद्ध लडेँ,’ उनले भने, ‘असुन्तुष्टि त थियो तर, पनि थितिको शासन गर्ने कि ओली बेथितीको शासन सहने ? यो प्रश्न मनमा खेलिरह्यो । त्यही भएर गठबन्धनलाई जिताएर लोकतान्त्रिक वाम सरकार निर्माणमा मनैदेखि लागेको हुँ ।’
कमाललाई सत्ता गठबन्धनले जिल्लाभरिको चुनाव परिचालन समितिको कमान्डर बनाएको छ । उनको संयोजकत्वमा रहेको ११ सदस्यीय समितिले जिल्लाको निर्वाचन संयोजन, प्रचारप्रसार र रणनीति बनाएर उम्मेदवार जिताउने म्यान्डेट पाएको छ । कमाल कमान्डमा चुनावी प्रचारप्रसार तीव्र बनेको छ ।
उनी अहिले निर्वाचन क्षेत्र नं. १ मा गोलाकारभित्रको हासिया हथौंडामा भोट मागिरहेका छन् । आफ्नै गाउँठाउँ रहेको हुँदा उक्त क्षेत्रमा बढी सक्रिय छन् । उनी बिहानदेखि रातिसम्मै फिल्डमा हुन्छन् । गठबन्धन भए पनि संघ र प्रदेशका ९ मध्ये ७ सिट कांग्रेसले पाएको छ । त्यसकारण पार्टीलाई जिताउन अहोरात्र खट्नु परेको उनले बताए । यसलाई कमाल स्वाभाविक मान्छन् । ‘राजनीति हो,’ उनले भने, ‘कहिले आफ्ना लागि त कहिले अर्काका लागि भोट माग्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’ ‘तीन दशकसम्म पार्टीले ममाथि लगानी गरेको छ । त्यो लगानी तिर्न पार्टीले खटाएको काममा इमान्दारिता देखाउँछु,’ उनले थपे ।
त्यसो त पार्टीले उनकी श्रीमती देवकला कमाल सुवेदीलाई मुस्लिम महिलातर्फ समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । अतहर ०६४ को संविधानसभा सदस्यदेखि निर्वाचन लडन थालेका हुन् । त्यतिबेला पराजित भएका उनी पार्टीले टिकट नदिएपछि ०७० मा बागी उम्मेदवार बने । चुनाव जितेपछि पार्टी राजनीतिमा पुन: फर्किए । ०७४ मा उनले टिकट पाएनन् । पार्टीले दीपकुमार उपाध्यायलाई टिकट दिएपछि असन्तुष्ट बनेका कमाललाई समानुपातिकतर्फ सांसद बनाइयो ।
०७० मा स्वतन्त्र उम्मेदवार भएर कमालले निर्वाचन जित्दा निकटतम प्रतिद्वन्द्वी सहश्रराम यादवका लागि पनि मत माग्दै छन् । सहश्ररामले जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गरेको गठबन्धनको विरोध गर्दै एकाएक कांग्रेस प्रवेश गरेर प्रदेश सभा १(१) उम्मेदवार बने । जसपाबाट लड्दा कमजोर हुने देखेर उनी कांग्रेस प्रवेश गरे । यादव काग्रेस प्रवेशसँगै कमाल उनलाई जिताउन कस्सिएर लागेका छन् । त्यस्तै कमाल स्वतन्त्र उम्मेदवार बनेर जितेका बेलाका कांग्रेसका आधिकारिक उम्मेदवार राजेश आचार्य पनि उनीसँग मत माग्दै हिँडेका छन् । संविधानको रक्षा र लोकतन्त्र बचाउन पनि गठबन्धन आवश्यक भएको आचार्यले बताए । आचार्य प्रदेशसभामा समानुपातिकबाट खसआर्य तर्फ पहिलो नम्बरमा छन् ।
०७२ कात्तिक १४ गते भएको उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिएपछि उनको चर्चा बढेको थियो । कमालले प्रस्तावक अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थक जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाललाई खोजेर उम्मेदवारी दिएका थिए । पछि उनले कांग्रेस नेताको आग्रहमा कांग्रेसका उपराष्ट्रपति पदका उम्मेदवार अमियकुमार यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।








