बाँके ।
बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरूको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे । राप्ती सोनारी– १ कुसुमका स्थानीय शिक्षक भुवन खुनाले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नभएको गुनासो गरे ।
“यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन”, उनले भने । निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसँग वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले सामूहिक प्रतिबद्धता गरेको वडाध्यक्ष सोहनलाल थारुले बताए ।








