अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् ।
एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो ।
न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस पटक टी-२० विश्वकपमा नयाँ विजेता नहुने पक्का भइसकेको छ । यस्तै पाकिस्तान र इंग्ल्याण्ड जसले फाइनल जिते पनि दोस्रो पटक च्याम्पियन बन्नेछ ।
पाकिस्तानले यसअघि सन् २००९ मा भएको दोस्रो संस्करण जितेको थियो भने इंग्ल्याण्डले २०१० मा भएको तेस्रो संस्करणको उपाधि जितेको थियो ।








