बुटवल ।
लुम्बिनीमा प्रदेश सरकार गठनका लागि कुनै दलले बहुमत पाउन नसकेपछि मिलिजुली सरकारका लागि जोडघटाउ शुरु भएको छ ।
प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सदस्यीय प्रदेश सभामा दलको मात्र होइन, सिंगो गठबन्धनको पनि बहुमत आउन सकेको छैन । यहाँ सरकार बनाउन कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ ।
प्रत्यक्षमा सबैभन्दा बढी १८ सिट र समानुपातिकमा पनि सबैभन्दा बढी मत पाएर पहिलो दल नेकपा एमाले बनेको छ । सत्ता गठबन्धनको नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, लोकतान्त्रिक समाजवादीले २ सिट गरी २४ सिट जितेका छन् । एमालेले १८, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ गरी २२ सिट जितेका छन् ।
नयाँ दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले २ र जनमत पार्टीले एक सिट जितेका छन् । माओवादी केन्द्रका तीनजना बागी (स्वतन्त्र) उम्मेदवारले पनि जितेका छन् ।








