गृहपृष्ठ Featured कांग्रेसलाई पछि पार्दै अर्घाखाँचीमा एमालेको दबदबा

कांग्रेसलाई पछि पार्दै अर्घाखाँचीमा एमालेको दबदबा

अर्घाखाँची ।

कुनै बेला कांग्रेसको प्रभाव क्षेत्र मानिने अर्घाखाँची अहिले एमालेमय बनेको छ । हरेक चुनावमा ‘मुड’ बदल्ने मतदाताले निर्वाचनपिच्छे फरक दलका उम्मेदवार रोज्दै आएका छन् ।

विगतका चुनावको नतिजा हेर्दा यहाँ कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका नेता आलोपालोजस्तै सांसद भएका छन् । २०१५ सालको आमनिर्वाचनमा अर्घाखाँचीबाट कांग्रेसका सुवर्णशमशेर राणा र काशीनाथ गौतम निर्वाचित भए । राणा भोट माग्न अर्घाखाँची झरेनन् । काठमाडौं बसेरै उनले भारी मतले चुनाव जिते । उनी २१औं प्रधानमन्त्री भए भने गौतम स्वास्थ्य मन्त्री बने । बहुदलपछि २०४८ र २०५१ को चुनावमा पनि कांग्रेस उम्मेदवार निर्वाचित भए । तत्कालीन क्षेत्र १ बाट निर्वाचित रेवतीप्रसाद भुसाल राज्यमन्त्री र २ बाट विजयी ढुण्डीराज शास्त्री मन्त्री भए ।

कांग्रेसको प्रभाव बढ्दै गएपछि २०५६ को चुनावमा एमाले र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरे । त्यसपछि भने कांग्रेसले आफ्नो जितलाई कायम राख्न सकेन । क्षेत्र नं. १ बाट जनमोर्चाका डिलाराम आचार्य र २ बाट एमालेका डिल्लीराज खनाल निर्वाचित भए । आचार्य अहिले माओवादी केन्द्रको सचिव छन् । २०५६ मा खनालसँग पराजित भएकी काशीनाथकी छोरी पुष्पा भुसालले २०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उनैलाई पराजित गरिन् । २०७० को चुनावमा एमालेका दुमनसिंह थापा निर्वाचित भए । पुष्पा पराजित भइन् । २०७४ को चुनावमा संघीय संरचना अनुसार अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र कायम गरियो । त्यस बेला एमाले, माओवादी र राजमोको वामगठबन्धन बन्यो । २०७४ र २०७९ का दुवै चुनावमा कांग्रेस उम्मेदवार पराजित भए ।

एमाले सचिव टोपबहादुर रायमाझीले लगातार चारपटक चुनावमा बाजी मारे । उनले २०६४ मा कांग्रेसका मानबहादुर विश्वकर्मा, २०७० र २०७४ कांग्रेसका डा. रामबहादुर बीसी र गत प्रतिनिधिसभा निर्वाचनमा पुष्पालाई पराजित गरे । बीसी २०५६ मा पनि राजमोका आचार्यसँग पराजित भएका थिए । मंसिर ४ मा सम्पन्न चुनावमा सत्तापक्षीयको पाँच दलीय गठबन्धन बनेको थियो । स्थानीय तहको नतिजा अनुसार गठबन्धन एमालेभन्दा ५ हजार मतले अगाडि थियो । २०७४ को चुनावमा समानुपातिक सांसद बनेर संघीय संसद्को उपसभामुख बन्ने अवसर पाएकी कांग्रेस नेतृ पुष्पाले गठबन्धनको बलमा पनि रायमाझीलाई पराजित गर्न सकिनन् ।

यसपालि प्रतिनिधिसभामा रायमाझी, प्रदेशसभा १ बाट चेतनारायण आचार्य र २ बाट रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । अघिल्लो चुनावमा पनि वाम तालमेलबाट यी तीनै जना निर्वाचित भएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहका १२ पदमध्ये मालारानी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पाणिनि गाउँपालिका उपाध्यक्ष पद मात्रै एमाले जितेको थियो । यसपालिको स्थानीय चुनावमा एमालेले एक्लै ८ पदमा जित हात पारेको थियो ।

सम्बन्धित् समाचार