सागर वि.क., वैखरी अनलाईन ।
जिल्लाको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा ‘शुभ फर्निसिङ्ग’ संचालनमा आएको छ । बाणगंगा नगरपालिका– ४ तौलिहवा रोडमा आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएसंगै ‘शुभ फर्निसिङ्ग’ संचालनमा आएको हो । स्थानीय स्तरमै उत्पादित फर्निसिङ्गका सामग्रीलाई बजारीकरण गर्दै स्थानीयलाई सेवा दिने उद्देश्यले व्यवसाय संचालनमा ल्याईएको प्रो. पिताम्बर न्यौपानेले बताए । करिब ३ करोडको लगानीमा व्यावसाय संचालनमा ल्याईएको उनले बताए ।

रुपन्देहीको सैनामैना– ८ निवासी न्यौपानेको परिवार नै विगत १० वर्षदेखि निरन्तर यही व्यावसायमा रमाउँदै आएका छन् । ग्राहकहरुलाई पर्दा, कार्पेट, दराज, पलङ्ग, अफिस कुर्ची, टेवल लगायत घर अफिस सजावटका सम्पुर्ण सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध गराउने उनले बताए ।
सैनामैना–७ मा आफुहरुले उद्योग नै संचालन गरेको र सोही उद्योगमा उत्पादिन फर्निसिङ्गका सामग्रीहरु विक्रि वितरण गर्ने उनले बताए ।

प्रो.नारायण न्यौपानेले फर्निसिङ्गका सामग्रीहरु लिन कपिलवस्तुवासी बुटवल, भैरहवा, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न यस व्यवसायले मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले यस व्यवसाय संचालनमा ल्याएको उनको भनाई छ । अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको उनले बताए ।
प्रो.छविलाल न्यौपानेले अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताए । उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवद्र्घन गर्न स्थानीयदेखि केन्द्र सरकारको चासो आवश्यक रहेको बताए । सुरुवाती चरणमा व्यवसाय संचालनका क्रममा निकै संघर्ष गर्नुपरेको उनीसंग अनुभव छ ।
‘सुरुमा व्यवसायमा हात हाल्दाँ निकै गाह्रो भयो’, उनले भने, ‘व्यापारबाट आएको आम्दानीले भाँडा समेत तिर्न नसक्ने स्थिति आएपछि घरको पैसाले तिर्न भाडा तिरियो, तर विस्तारै पछि स्थिति सहज हुदैं गयो ।’
व्यवसाय गर्दा प्राराम्भिक चरणमा घाटा भए पनि त्यसलाई निरन्तरता दिदैं जानुपर्ने र धैर्यता कायम गर्न सक्नुपर्ने उनको भनाई छ ।








