साउदीमा भएको दुर्घटनामा हात गुमाएका हेमराज केसी स्वदेश फर्किएका छन् ।साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परी १ हात गुमाएका दाङका हेमराज केसी ९ महिनापछि स्वदेश फिर्ता भएका हुन् ।
वैदेशिक रोजगारका क्रममा दाङ–५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ म्यानपावरबाट २२ मार्च २०२२ का दिन साउदी पुगेका थिए। २५ अप्रिलमा कम्पनीको गाडीमा कोठा फर्कने क्रममा सडक दुर्घटना परी एक हात गुमाएका थिए ।
दुर्घटनामा उनीसँगै रहेका झापाका एक नेपालीको मृत्यु भएको थियो भने रमेश रम्तेलले एउटा हातको ३ औंला गुमाएका थिए।
दुर्घटनापछि कम्पनीले साधारण उपचारपछि वेवास्ता गरेको र आवश्यक उपचार नगरेको, खान तथा उपचार गर्न कठिनाइ रहेको भन्दै पीडितले गुनासो गरेलगत्तै एनआरएन महिला केन्द्रीय सदस्य यास्मिन वेगम, एनआरएन मध्यपूर्व संयोजक जोन राजेन्द्र अर्याललगायत त्यहाँ रहेका नेपालीको पहलमा आर्थिक सहयोग गरेका थिए। उनीहरुले पीडितलाई चाँडो स्वदेश फिर्ताका लागि रियादस्थित नेपाली दूतावासलाई आग्रह गरेका थिए ।








