दाङ ।
दाङको तुलसीपुरमा एक युवामाथि मरणासन्न हुने गरि कुटपिट गरिएको छ । शान्तिनगर गाउँपालिका वडा नं.६ निवासी २५ वर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
आफ्नी श्रीमती दिदीको घर गएको अबस्थामा कुँवर पनि त्यही सँगै गएका थिए । त्यहाँ गएको बेला विवाद भएको थियो । विवाद भएपछि श्रीमती र उनकी दिदी मिलेर बाहिरबाट चुकुल लगाएर कुँवरलाई भित्र हुले । त्यसपछि केही स्थानीय आएर कुटपिट गरेका थिए ।
करिब ७ मिनेटसम्म कुटपिट पछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली त्यहाँ पुगेर उद्धार गरेको थियो । प्रहरी पुग्दा उनलाई हातखुट्टा बाँधिएको अवस्थामा राखिएको एक स्थानीयले बताए । प्रहरीले उनको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ ।








