गृहपृष्ठ Featured टाउकोमा कालो पट्टी बाँधेर लुम्बिनीका उद्योगी–व्यवसायी विरोध प्रदर्शनमा उत्रिए

टाउकोमा कालो पट्टी बाँधेर लुम्बिनीका उद्योगी–व्यवसायी विरोध प्रदर्शनमा उत्रिए

सागर वि.क., कपिलवस्तु ।

बैंक तथा वित्तीय समस्या समाधानार्थ उद्योगी व्यवसायीले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा लुम्बिनी प्रदेशका उद्योगी व्यासायीले आज बुधबार टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए ।

आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । ‘हामीले पटक पटक उद्योगी व्यवसायीका समस्याहरु सरकारसंगै बैंक वित्तीय संस्था समक्ष राख्यौं तर सुनुवाई भएन, अब हामीले भोलिबाट चरणबद्ध आन्दोलन गर्नेछौं’, उनले भने । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान नभएसम्म देशको अर्थतन्त्र नसुध्रने दाबी गरे ।

‘सरकारले निजी क्षेत्रका सदस्यहरुलाई बोलाएर माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिए । तर, अहिलेसम्म पनि केही कदम नचाली राष्ट्र बैंक मौन बसेका कारण पनि विरोध गर्न लागिएको हो’, उनले भने ।

विरोध प्रदर्शनमा सहभागि कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई मानसिक यातना दिने गरेको बताए । ‘अहिले सबै उद्योग व्यवसाय धरासायी अवस्थामा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा व्यवसायीहरुले कसरी ऋण तिर्न सक्छन् ।’ उनले व्यवसायीलाई मानसिक दिने कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

अबको एक हप्तासम्म आफुले विभिन्न चरणमा आन्दोलन गर्ने बताउँदै उनले भने, ‘उद्योगी व्यवसायीका मागहरुमा सरकार गम्भिर हुनुपर्छ । तत्काल बैंक तथा वित्तीय संस्थाहरुको आतंक बन्द गराउन पर्छ ।’

देशभरका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा उद्योगी–व्यासायीहरुले घोराही बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उक्त विरोध कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उद्योग बाणिज्य संघका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार