सागर वि.क., वैखरी अनलाईन ।
श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शितगंगा १४ विक्रममा रहेको सहकारीको आफ्नै भवनको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सुसिला श्रपाली ठकुरीले यस सहकारी सहकारीका मूल्य मान्यतालाई आत्मासाथ गर्दै अघि बढेर नमुना सहकारीको रुपमा परिचित भएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रमकी प्रमुख आतिथि समेत रहेकी उनले सहकारी समाजवादको ढोका भएको बताउँदै सुशासन, समृद्धि र विकासको लागी एकजुट हुनुपर्ने बताईन् । सहकारीमा राजनिति नगर्न आग्रह गर्दै उनले आफुले गर्न सक्ने सहयोग गर्न प्रतिवद्ध रहेको बताईन् ।

लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले कृषि तथा पशुपालनका क्षेत्रमा यस सहकारीले गरेका कार्य प्रशंसनीय रहेको बताए । सहकारीको माध्यमबाट मात्र समृद्धि हासिल गर्न सकिने बताउँदै उनले प्रदेशबाट आगामी आर्थिक बर्षमा यस सहकारीका लागी ४ कोठे पक्की भवन निर्माणका लागी बजेट पार्ने प्रतिवद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सहकारी देश विकासको मेरुदण्ड भएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाट क्षेत्रीले महिलाहरुको सक्रियता तथा एकताले यस सहकारी नमुना बन्न सफल भएकोमा खुशी व्यक्त गरिन् । उनले सहकारीलाई सहकारीलाई नगरपालिका प्रतिवद्ध रहेको जिकीर गरिन् । हाल भएको विकासले सन्तुष्टि हुने स्थिति नरहेको बताउँदै उनले जनतालाई विकासको अनुभूति हुने गरि काम गरिरहेको बताईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका पुर्वनगरप्रमुख सुर्यप्रसाद अधिकारी र उपप्रमुख टिका रेस्मीले यस सहकारीलाई स्थापना कालदेखि नै साथ सहयोग गर्दै आएको स्मरण गरे । उनीहरुले महिलाहरुको मिहेनत्त र लगनशिलताले सहकारी उत्कृष्ट बन्न सफल भएको बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १४ का वडाध्यक्ष दामोदर न्यौपानेले अहिलेको अवस्थामा सहकारी विना कुनै पनि काम गर्न सहज नभएको बताए । मासिक बचत बढाउँन सुझाव दिदैं वडाध्यक्ष न्यौपानेले भने, ‘अहिलको बचतले यस सहकारीले लिएको लक्ष्य पुरा हुन सक्दैन् ।’
संस्थाकी व्यवस्थापक कृष्ण दर्लामीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष सिता लामिछानेले बार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । सो क्रममा उनले सहकारीले एक बर्ष भित्र गरेका क्रियाकलाप तथा उपलब्धीहरु समेत जानकारी गराएकी थिईन् । हाल यस सहकारीमा ६०२ ना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान स्वरुप औषधी वितरण गरिएको थियो भने वृद्धा बचतकर्तालाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।








