गृहपृष्ठ Featured रुपन्देहीमा व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग

रुपन्देहीमा व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग

बुटवल ।

रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । पछिल्लो समय चोरी डकैताका घटना बढेको भन्दै उनीहरुले सुरक्षाको प्रत्याभूति दिलाइदिन माग गरेका हुन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आज भैरहवामा आयोजना गरेको नवआगन्तुक सुरक्षा प्रमुखहरुसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने माग गरे ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने सामानका कारण राजस्व घट्नुका साथै नेपालको व्यापार फस्टाउन नसकेको बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रातिको समयमा व्यवसाय तथा होटल छिटो बन्द हुँदा बाहिरबाट आउने पर्यटक मर्कामा परेको गुनासो आइरहेको बताउँदै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले भन्सार छलेर सामान ल्याउँदा स्वदेशी व्यवसाय मर्कामा परेको गुनासो गरे ।

सम्बन्धित् समाचार