रामपुर ।
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन ।
पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका हुन् । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो ।
भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेका हुन् ।
गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन् । स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् ।
हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ ।