गुल्मीको तम्घास बजारसहितका छिमेकी गाउँमा एकै दिन आठ–दश जना व्यक्तिलाई टोक्ने कुकुरमा रेबिज पुष्टि भएको छ। एउटै कुकुरले पछिल्लो साता तम्घाससहित अर्खलेका नागरिकलाई टोकेपछि नेपाल प्रहरी र डिभिजन वन कार्यालयको सहयोगमा नियन्त्रणमा लिएर भेटेरेनरी अपताल तथा पशु विज्ञ केन्द्रमा राखिएको थियो।
केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेका अनुसार सोमबार राति कुकुर मरेपछि बिहान परीक्षण गर्दा रेबिज पुष्टि भएको हो। कुकुरले टोकेका सबैलाई खोपको पहुँचमा ल्याउने र शंकास्पद कुकुरबाट जोगिन सबैलाई काफ्लेले आग्रह गरे।
उनले कुकुर नियन्त्रणको विषय लामो समयदेखि महसुस भए पनि स्थानीय तह र निकायबीच समन्वय नहुँदा समस्या भएको बताए। ‘सबै विषय केन्द्रको अधिकार क्षेत्रभित्र पर्दैनन्। समस्या पर्नेबित्तिकै केन्द्रलाई चौतर्फी फोन र दबाब आउँछ,’ उनले भने, ‘सबैको सहयोग र समन्वय भएन भने सधैँ जोखिम मोल्न सकिँदैन।’
मंगलबार बिहान रेसुंगा नगरपालिका– १ का काशीराम विकलाई कुकुरले टोकेर घाइते बनायो। गत २० र २१ फागुनमा रेसुंगा नगरपालिकाका विभिन्न ठाउँका ६ जनालाई कुकुरले टोकेर घाइते बनाएको थियो।








