गृहपृष्ठ Featured युनाइटेड एफए कपको सेमिफाइनलमा

युनाइटेड एफए कपको सेमिफाइनलमा

ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले आइतबार राति फुलहमलाई ३-१ ले हराउँदै एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । फुलहमका दुई खेलाडी र प्रशिक्षक मार्को सिल्भाले रातो कार्डको सामना गरेका थिए ।

५०औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिकले गरेको गोलबाट फुलहमले अग्रता लिएको थियो । यससँगै फुलहमले २००२ पछि पहिलोपटक एफए कपको सेमिफाइनलमा स्थान बनाउने संकेत गरेको थियो ।

तर, इरिक टेन ह्यागको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७२औँ मिनेटमा जाडोन सान्चोले हानेको प्रहारलाई गोललाइनमा रहेका विलियानले हातले रोकेपछि रेफ्री क्रिस काभानाघले भिडियो सहायक रेफ्रीको सहायतामा सिधै रातो कार्ड देखाएका थिए । त्यसको प्रतिवाद गर्दा मित्रोभिक र प्रशिक्ष सिल्भाले पनि रातो कार्डको दर्शन गरेका थिए ।

लगत्तै पाएको पेनाल्टी अवसरलाई फर्नान्डेजले कुनै गल्ति नगरी बराबरी गोल फर्काए । त्यसको दुई मिनेट नवित्दै मार्सेल साबिट्जरले गरेको गोलबाट युनाइटेडले अग्रता लियो । इन्जुरी समयमा फर्नान्डेजले अर्को गोल थपेपछि युनाइटेडले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

युनाइटेडले अब फाइनल प्रवेशका लागि प्रिमियर लिगकै अर्को क्लब ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । ब्राइटनले गएराति नै ग्रिम्सबेलाई ५-० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सम्बन्धित् समाचार