वैखरी अनलाईन, लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले हरेक दिन राष्ट्रिय गानसंगै कामकारवाहीलाई अगाडि बढाउने गरेको छ । दैनिक रुपमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारीहरु संयुक्त रुपमा राष्ट्रिय गानमा सरिक हुने गरेका छन् ।
कर्मचारीहरुलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्रप्रतिको भाव बढाउने उद्देश्य अनुरुप उक्त कार्यको थालनी गरिएको नगरप्रमुख सजरुद्दिन मुसलमानले बताए । उनले उक्त कार्यबाट कार्यालय समयमै नगरका कर्मचारीलाई आउन उत्पे्ररित गरेको बताए ।

जनप्रतिनिधि, कर्मचारीमा राष्ट्रप्रतिको सम्मानलाई थप बोध गर्ने अभ्यास स्वरुप नगरपालिकामा पनि राष्ट्रिय गानको सुरुवात गरेको उनले बताए । राष्ट्रिय गानमा सरिक भएपछि मात्र कार्यालयका सेवा शुभाराम्भ गर्न थालिएपछि कर्मचारीहरु थप सक्रिय भएको उनको भनाई छ ।
न्गरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र पाण्डेयले कार्यालयमा बिहानको ठिक १० बजे राष्ट्रिय गान बज्ने गरी प्रविधि जडान गरिएको बताए ।
उक्त समयमा कर्मचारीहरु पनि राष्ट्रिय गानमा सरिक हुनुपर्ने गरि तालिका नै बनाई कार्य थालिएको उनले बताए । ’राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरुमा राष्ट्रप्रतिको भाव बढ्ने र कर्मचारी र सेवाग्राहीहरुमा जहाँ जुन सुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन्छ विश्वास लिएका छौँ,’ उनले भने ।
नेपाली राष्ट्रिय गाानले राष्ट्रिय एकता र सेवा प्रवाहमा पनि सुधारमा ल्याउने उनले बताए । पछिल्लो समय देशका विभिन्न स्थानीय तहले राष्ट्रिय गानसंगै सेवा सुचारु गर्ने क्रम बढेको छ ।








