काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सविरुद्ध ५० रनको फराकिलो जित निकालेको छ । लखनउले घरेलु मैदानमा प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ५६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । राइली रौसोले ३० र पृथ्वी सले १२ रन बनाए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।
लखनउका ओपनर काइल मयेर्सले ७३ रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका मयेर्सले ३८ बलमा दुई चौका र सात छक्का प्रहार गरे ।
निकोस पुरनले ३६ रन बनाउँदा आयुष बदोनीले १८, दिपक होडाले १७ र क्रुनल पण्ड्याले १५ रन बनाए ।
दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान दुई विकेट लिए । अक्षर पटेल र कुलदिप यादवले एक(एक विकेट लिए । जितसँगै दुई अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।








