गृहपृष्ठ Featured बराबरीमा रोकियो टोटनहम

बराबरीमा रोकियो टोटनहम

काठमाडौं ।

माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभर्टनले सोमबार राति इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ ।

एभर्टनका ३० वर्षीय रक्षक किनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट हानेको लामो प्रहारलाई टोटनहमका गोलकिपर ह्युगो लोरिसले बचाउन सकेनन् । योसँगै एभर्टन एक अंक खोस्न सफल भयो ।

बराबरी गोल फर्काएपछि किनले भने, ‘‘तपाईंलाई विश्वास लाग्दैन होला, प्रशिक्षणमा मैले यस्तै प्रहार गरिरहेको हुन्थेँ । उनीहरूलाई पेनाल्टी अवसर दिएपछि मलाई इख पलाएको थियो । अन्तत गोल गर्न सफल भएँ ।’’

त्यसअघि, ६८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गरेको गोलबाट पाहुना टोली टोटनहमले अग्रता लिएको थियो । एभर्टनका किन ले क्रिस्टियन रोमेरोलाई फाउल गरेपछि टोटनहमले पेनाल्टी अवसर पाएको थियो ।

दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । ५८औँ मिनेटमा अब्डुलाए डौकोरले रातो कार्डको सामना गरेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । खेल सकिन दुई मिनेट बाँकी हुँदा लुकास मौराले रातो कार्डको सामना गरेपछि टोटनहम पनि १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि एभर्टन रेलिगेसन क्षेत्रबाट एक अंकले माथि उक्लिएको छ । एभर्टनले २९ खेलबाट २७ अंक जोडेको छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको लिड्स युनाइटेडभन्दा एक अंकले माथि हो । एभर्टनले एक खेल बढी खेलेको छ । टोटनहम २९ खेलबाट ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ५० अंक जोडेका न्युक्यासल युनाइटेड तेस्रो र म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा छन् । टोटनहमले एक खेल बढी खेलेको छ ।

सम्बन्धित् समाचार