काठमाडौं ।
सिक्किममा मंगलबार गएको हिमपहिरोमा तीन नेपाली नागरिकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सात जनामध्ये तीनजना नेपाली नागरिक रहेको खुलेको छ ।
घाइते भएका १३ जनामध्ये तीनजना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परि नेपालका तीनजना, भारतको उत्तर प्रदेशका दुई जना र पश्चिम बंगालका दुई जनाको ज्यान गएको हो ।
गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार मृत्यु हुनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ छन् ।
उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिएको मृत्यु भएको छ ।
हिमपहिरोमा परि घाइते भएका १३ जना मध्ये सातजनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । ६ जनाको उपचार भइरहेको छ । घाइतेहरूमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास, कोलकाताका सुभ्र ज्योतीको अस्पतालमा उपचार भइरहेको छ ।
गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा तीनजना नेपाली नागरिकसहित सातजनाको ज्यान गएको बताए ।
हिमपहिरोमा मृत्यु भएकाको शवलाई उनीहरूको घरसम्म राज्य सरकारले पुर्याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनीहरुको सबै उपचार खर्च राज्य सरकारले बोहोर्ने र मृतकको शव पनि राज्य सरकारले उनीहरुको घरसम्म पुर्याउने बताएका थिए ।
सिक्किमको नाथुला पासनजिकै छाङ्गुमा मंगलबार हिमपहिरो गएको घटनास्थलमा आज पनि उद्धार कार्य सुरु गरिएको छ । हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गए लगत्तै सुरु गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो । आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य सुरु गरिएको छ ।








