गत स्थानीय तहको निर्वाचनमा रेसुंगा नगरपालिकामा निर्वाचित नगर प्रमुख खिलध्वज पन्थी नेतृत्वको कार्यपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने पहिलो निर्णय गरेकाे थियाे ।
करिव १० महिनापछि शुक्रबार स्वास्थ्य सेवा दिवसको अवसरमा डायलाइसिस मेसिन गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई नगरप्रमुख पन्थीले प्रदान गरे । मेसिन संचालनमा आए गुल्मी तथा अर्घाखाँचीका मिर्गौला पीडितहरुका लागि ठुलो राहत हुनेछ ।
पहिलो निर्णय कार्यान्वयनको लागि भारतीय दुताबासबाट प्राप्त ६५ लाख ३६ हजार चार सय ६६ रुपैयाँका डायलाइसिस मेसिन अस्पताललाई प्रदान गरिएको पन्थीले जानकारी दिए । नगरप्रमुख पन्थीले समुन्नतिको आधार स्थापित गर्न आफुहरुले स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएको बताए । उनले राम्रो उपचार र शिक्षा नपाएर जिल्लाका गाउँहरु बसाइसराई रित्तिदै गइरहेकाले स्थानीय सरकारको तर्फबाट थुप्रै नयाँ र रचनात्मक कामहरुको प्रारम्भ गरिएको बताए ।








